Please GBBS, give them Dhara 127!!
तपाईं पढ्दै हुनुहुन्छ: कान्तिपुर >> मुख्य समाचार
पानीका लागि पँधेरैमा बास
टीका भट्ट
मन्थली, असार १४ - बेलुकाको खाना खाएको छैन, पानी लिन जानै हतार । नगए भोलिपल्ट दिनभर पाइँदैन । त्यसैले अरू मस्त निदाइरहेका बेला पनि पकरवासका महिला मध्यरातमै ओछ्यान बोकेर लाग्छन् पँधेरोतिर ।
'पँधेरोमै नबसे पानी पाइँन्न,' सीता पौडेल भन्छिन्- 'त्यसैले उहीं झकाउँदै पालो कुर्छौं ।' सुख्खाले मुहान सुकेपछि पकरवास- ५, पौडेल टोलमा यतिखेर खानेपानीको हाहाकार छ । मुहान नसुकेको एकमात्र पँधेरोमा ६० परिवार निर्भर छन् ।
रातभरमा २०/२५ गाग्रीमात्र जम्मा हुन्छ । त्यहीं पनि पानीका तँछाडमछाड चल्छ । मध्यरातमा आए बिहान १० बजेतिर मात्र पानी भर्न पाइने उनीहरू बताउँछन् ।
'दिउँसो आए पनि पालो राति कुन बेला आउने हो पत्तो हुँदैन,' सीता भन्छिन्- 'त्यसैले राति नै आउँछौं ।' त्यहाँ नपाए दुई घन्टा टाढा गाणपानी, जोरपँधेरो तथा सिमलबोटसम्म पुगेर ल्याउने गरेको उनीहरू बताउँछन् ।
सदरमुकामदेखि तीन कोस टाढाका यी गाउँले सुख्खा लागेपछि सधैं यस्तै नियति भोग्दै आएका
छन् । आफूलाई जेनतेन जोगाड गर्न सके पनि बस्तुभाउलाई पानी दिन नसक्दा केही गाउँले बेंसीतिर झरेका छन् । 'पानी नभएकैले मादी फाँटमा जमिन हुनेहरू उतै सरेका छन्,' स्थानीय नारायण पौडेलले भने- 'विकल्प नभएका मात्र यहाँ छन् ।' उनका अनुसार आधा गाउँले सरिसकेका छन् ।
धोबी, दमाई, सिलवाल र उप्रेती टोलको समस्या पनि उस्तै छ । त्यहाँका महिलाले समेत घरका नानी छोडेरै भए पनि आधा रातमै पानी लिन जानुपर्ने बाध्यता छ ।
कुनै कुनै परिबारमा लोग्नेमान्छेले सघाए पनि प्रायः महिला नै पँधेरो जान्छन् । 'आज राति धेरो नपुगे भोलि के पिउनु ?,' सधैं नानीकोभन्दा पानीको चिन्तामा हुन्छन् उनीहरू ।