अर्को भाग-
“कुन जुनिमा कसको रिन खा रेछु र यस्ता संग परेँ नारन्, घाम लाएर पनि डाँडामाथि पुग्न लाइसको, यिनलाई अझै आधारात छ!”
नेप्चिले ओढ्ने पट्ट्याउँदै खाटमा लम्पसार परेर सुतेका ठुल्दाईलाई हेर्दै भनिन्।
ठुल्दाई बिउँझिएका भए पनि प्रत्यक्षत: निदाएको भान गर्दै थिए।
नेप्चिले भुइँमा छरिएका लुगाहरु एक एक गर्दै बटुल्दै फेरि बोलिन्-
“झरि परेर केइ लाइथाज छैन, गोठ चुहिएको मइना दिन भैसको, भैँसि मरो भने पनि हाम्रा सिरिमानलाई केइ हुन्न,!”
ठूल्दाईलाई नेप्चिको स्वर कानबाट छिरेर तालुभित्र कतै घोच्ने झिर जस्तो लाग्दै थियो, तै पनि निदाएको जस्तो गर्दै सिरकले कान छोपेर कोल्टे फर्किए।
“ अझ लाज छइन कान छोपेर उतापट्टि फर्किन? घरमा तिउन छैन, तेल छैन…मस्यौरा पार्न भनेर कर्कलो काटेर सुकाउन खोजो झरिले देन, लौ न बुडा मास किनेर ल्याइदेऊ भन्या उइलेइ हो, म एक्लिले धान्न सक्दिन यो घर अब!”
नेप्चि लुगा पट्ट्याउँदै बुढातिर हेरेर कराउँदै थिइन्।
ठूल्दाईलाई नेप्चि एकोहोरो कराएकोमा रिस उठ्यो। मुखबाट छाति सम्मको सिरक झ्वाट्ट पन्छाउँदै नेप्चिलाई हेरेर आँखभौँ खुम्च्याउँदै बोले-
“क्यार्न आगोमा पर्या बाँस जस्तो पड्किराछेस? उठ्न त दे पइला? उज्यालो हुन पा छइन जइले नि एसको थुतुनो बज्या सुन्न पर्छ!”
“अझ मेरै थुतुनो बज्या लाग्छ बुडा तिम्लाई! अर्काको छोरि ल्याएपछि पाल्न नि जान्न पर्छ। ब्यान उठ बडारकुँडार लिपपोत गर, पँधेरा जाऊ सकि नसकि गाग्रि भरेर पानी ल्याउ, भैँसिलाई कुँडो खुवाउ, आगो बाल, भात पकाऊ सपै म एक्लैले गर्नु पर्छ, एसो मैले मेसो नपा कुरा बाइर ग’र लौन बुडा गर्देऊ भन्दा मेरो थुतुनो बज्यो रे!”
यति भन्दै पट्ट्याएको लुगा त्यसै फालेर भित्ता तिर फर्केर रुन थालिन् नेप्चि!
नेप्चि रोएको देखेर ठुल्दाई त्यसै मुर्मुरिएर उठे। सुरुवाल र इस्टकोट लगाए अनि आँखा मिच्दै बाहिर निस्किए।
“ जहिले नि करा’ छ छ, अनि यसो केइ भन्यो रुन थाल्छे, मासु खाने भइ येल्ले मेरो!”
बर्बराउँदै ठुल्दाई अम्खोरामा पानि सार्न थाले।
ठुल्दाई बाहिर आँगनमा निस्किए।
घमाइलो बिहानि देखेर ठूल्दाईको रिस केहि शान्त भयो। मुख धोए, र इस्टकोटको फेरले मुख पुछे अनि भित्र छिरे। अँगेनानिरको खामोमा केहि राख्न मिल्ने गरेर प्वाल जस्तो पारिएको थियो, त्यहाँ छामे र गैँडा चुरोटको खुम्चिएको प्याकेट निकाले। चुरोट ओठले चेपेर टुक्रुक्क बस्दै अँगेनामा घोप्टो परेर बडो सकसका साथ चुरोट सल्काए र बाहिर आए।
पिँढिमा टुक्रुक्क बसेर चुरोट तान्दै मनमा कुरा खेलाउन थाले-
“ अब त ज्यान जाला तास खेलुँला कइलेइ?”
बुढाले मनमनै आफूलाई सम्झाए।
“तेत्रो पैसा थ्यो हारेँ कसरि भन्नु बुडिलाई, थाहा पाइ भने घरमा बस्न नहुने गरेर रडाको मच्चाउँछे फेरि… फसाद पो परो त!”
चुरोटको लामो सर्को तानेर धुवाँ हावामा फाल्दै बुढा सोच्न थाले-
“ मास किन्ने त के कुरा, एइ एक बट्टो गैँडा किन्ने पैसो नि छैन! आज तेल र मास किनेर नल्याइदि भा छैन! खान त परो के रे नि!”
बुढा साँच्चिकै आत्तिए जस्ता देखिए।
“ हे बनकालि माइ आजबाट तास खेलेछु भने म कुकुर!”
बुढाले कसम खाए।
“ बरु बुडिले जोगा’र राख्या थि कि अलि अलि पइसो? अइपछि त बोडि मकै बेच्या पइसो उसको भाग भन्दै राख्थि के रे!”
बुढाले चुरोटको अन्तिम लामो सर्को तानेर ठुटो पिँढिमा झोसेर दल्दै मुखभरिको धुवाँ फालेर, मनमनै बोले र भित्र छिरे, चुरोटको प्याकेटलाई पहिलेकै ठाउँमा राखे र कोठा तिर लागे।
भित्र कोठामा नेप्चि रोएकि त थिइनन् अहिले, तर कालो अनुहार लगाएर लुगा पट्ट्याउँदै थिइन्। ठूल्दाई कोठामा छिरेको उनले चाल पाइन् तर मुन्टो उठाएर हेरिनन्।
“ ए बुडि! तँ रिसाकि?”
बुढाले फकाउने पाराले नेप्चिलाई मायाले हेर्दै सोधे।
नेप्चिले सुनेको नसुनेइ गरिन र पट्ट्याउनलाई हातमा लिएको लुगा दुबैहातले बलपूर्बक समातेर भुईँ हेरेर बसिरहिन्।
बुढा अलि अगाडि बढे र नेप्चिको काँधमा हात राख्दै भने-
“ओइ सुन् न!”
नेप्चिले जिऊ झड्कारेर ठुल्दाईको हात काँधबाट हटाउने कोशीस गरिन्।
ठुल्दाई नेप्चिको अगाडि आएर टुक्रुक्क बसे र नेप्चिको दुबै कुममा हात राखेर अनुहार हेर्दै चुरोटले कालो बनाएको दाँत देखाउँदै भने-
“ तँ यसरि घोसे मुन्टो ला’र कालो अनुहार बनाउँदा बिछट्टै राम्रि देखिन्छेस क्या!”
नेप्चिले केहि नबोलि, पुलुक्क ठुल्दाईलाई हेरेर, आफ्नो दुबै हातले ठुल्दाइको हात समातेर कुम बाट हटाइन्।
“ सुन न लाटि, तेरो मया नै नला’र कराको होला त म? तैँ भन् त?”
ठुल्दाईले फेरि नेप्चिको एउटा कुममा हात राख्दै सोधे।
“माया लाग्या भए मुखमा जे आयो तेइ भन्नुहुँदैनथ्यो”
ठुल्दाईको प्रश्नमा नेप्चिको आँखाबाट फेरि आँशु झर्यो र बिस्तारै झिनो कामेको स्वरमा जवाफ दिइन्।
“मुखमुखै त, तँ कति लाग्छेस भन्ने मलाई था छ; सोमप्रसाद बुडाको त नातिनी!”
ठूल्दाईले मनमनै बुढो ससुरा जस्तै, नेप्चि बढि चोथाले भएको कुरा गरे पनि प्रत्यक्षत: मुसुक्क हाँस्दै भने-
“ रिसमा बोल्या कुरा ले’र नि आँशु च्वाउने हो त लाटी? रिसमा आँखा देख्तिन नि त म, मुखमा आ फलाक्या मात्रै हो, भित्र त तेरो माया छताछुल्ल छ नि!”
नेप्चिको मुहार अलिकता सुध्रियो तर अनुहारमा उदासिको भाव चाहिँ बढ्यो, डब्डबाएको आँखाले ठुल्दाई तिर हेरेर भनिन्-
“ एक त दिनदिनैको भ्याइनभ्याइ छ मइँलाई, तेसमाथि तपाइँले बचन लाउँदा मेरो चित्त दुइ फक्ल्याँटो पर्छ! अस्ति देखि काट्या कर्कलो तेत्तिकै छ मास ल्याइदिनु भन्या त थेँ नि। तेल सक्केर आजा छाकलाई भुटुन छैन तेति ल्याइदिनु भन्दा बचन लाउनुभो!”
“ ल्याइहाल्छु नि लाटी, म जान लाया अइले नै पसलतिर!”
ठुल्दाई झन मिठो स्वरमा बोले।
नेप्चिको मुहार अब चाहिँ ढुक्क देखियो।
“ ल तपाइँ पसल जानोस, म पँधराँ गएर एक गाग्रि पानी लेराम्छु!”
यति भन्दै नेप्चि उठिन् र ढोकातिर लागिन्। ढोकामा पुगेर केहि सम्झेको जस्तो गरेर टक्क अडिइन् र ठुल्दाई पट्टि फर्केर पिडा र शंका मिसिएको स्वरमा भनिन्-
“ आज नि पसलमा ग’र तास खेल्नुभो भने मलाई काट्या पाप लाग्छ तपाइँलाई!”
यति भनेर नेप्चि बाहिरिइन्।
ठुल्दाई वाल्ल परेर नेप्चि गएको खालि ढोका नियाल्न थाले।
एकैछिनपछि ठुल्दाई उठे र झ्यालमा छेकिएर बाहिर हेर्न थाले।
नेप्चि डोकोमा गाग्रि बोकेर आँगनबाट तलतिर ओरालो लागेको देखेपछि ठुल्दाई ढुक्क देखिए।
ठुल्दाईको नजर कोठामा यताउता दौडिन थाल्यो।
कुनामा ढेप्प्याएर राखेको कालो सन्दुकमा पुगेर ठुल्दाईको नजर थामियो।
गएर सन्दुक खोले।
नेप्चिका केहि लुगाहरु एकापट्टि जतनसाथ पट्ट्याएर राखिएको थियो र अर्को पट्टि केहि हरलिक्सका सिसिहरुमा घ्यू राखिएका थिए। त्यतापट्टि नै, एउटा खालि नयाँ ठेकि, एउटा दाब सहितको खुकुरी थियो। संगै एउटा ढाकाको सानो थैली पनि थियो। ठुल्दाईले एक पटक त्यत्तिकै कोठामा चारैतिर हेरे र ढाकाको थैली निकाले। थैली , थैलीको मुखमा भएको डोरी दुई दिशामा तन्काएर मुख चुमुक्क पारेर बन्द गरिने खालको थियो। ठुल्दाईले दुबैहातको बुढि औँला फँसाएर थैली खोले। त्यो सानो थैलीमा धेरैकुराहरु जतनसाथ राखिएको थियो। थैली भित्र एउटा सानो तिलहरी, एउटा सानो ढुङ्ग्री, केहि अक्षता छरिएका, सुकेर चिन्न नसकिने केहि फूलहरु, केहि गेडा पशुपतीको सेतो प्रसाद, एउटा मन्दीरको पँहेलो धागो, र केहि रुपियाँहरु मैलो धागोले बेरेर राखिएको थियो!
ठूल्दाईले रुपियाँको मुठो निकालेर धागो फुकाए। शयको २ वटा नोट, २० का २ वटा र पाँच, दुई र एकका केहि नोटहरु थिए। ठुल्दाईले बिसको एउटा नोट र पाँचका ४ वटा नोटहरु निकालेर इस्टकोटको खल्तिमा हुले। बाँकि पैसालाई पहिले जस्तै बाँधेर थैलीमा राखेर थैली बन्द गरे।
सन्दुक लगाउँदा ठुल्दाईको अनुहार अलि ढुक्क थियो; शायद एक चौथाइ तेल र केहि मास यसबाट किन्न सकिन्छ भनेर र शायद गैँडा चुरोटको एउटा नयाँ प्याकेट पनि!
इस्टकोटको खल्ति बाहिरै बाट छाम्दै ठुल्दाई घरबाट बाहिर निस्किए।
आँगनमा पुगेर केहि सम्झेर फेरि फरक्क फर्किए र पहिलेकै ठाउँबाट गैँडा चुरोटको प्याकेट निकाले।
अँगेनामा कुँडो तात्दै थियो। ठूल्दाईले कुँडे अँगेनाबाट हटाए, र घोप्टिएर चुरोट सल्काए। सल्काउँदा सल्काउँदै तिन-चार सर्को तानेर खोक्दै ठुल्दाई बाहिर निस्किए! बुढाले कुँडेलाई फेरि अँगेनामा फिर्ता राख्न बिर्से!
बाहिर निस्किएर ढोका ढप्क्याए र चुरोट तान्दै बिहान मात्र झरि थामिएर खुलेको गाउँ हेर्दै बाटो लागे।
कैले साउको पसल आइपुग्न अझै केहि बाँकि थियो। ठुल्दाईको चुरोट सकिइसकेको थियो र उनि केहि सोच्दै निहुरिएर हिँड्दै थिए, कसैले बोलाएको जस्तो लागेर उनि झस्के!
“ कता हो ठुल्दाई ब्यानब्यानै?”
ह्वास्स रक्सिको बासि गन्ध आयो। मुन्टो उठाएर आफ्नो नजिकमा हिँड्दै बोलाऊनेको अनुहार तिर पुलुक्क हेरे, दीप रहेछ।
“ कता हुनु बाउ, कैलेसाउको पसलाँ जान लाया, जाहानले तेल ल्याइदे भन्थि तेसइले!”
ठुल्दाईले हिँड्दै दीपलाई जवाफ दिए।
“ किनेर फर्किहाल्ने हो र ठुल्दाई?”
हिँड्दै दीपले चप्पल पड्काउँदै भन्यो।
“ फर्किने बाउ, घरमा सबैकुरो असरल्ल छ सामलतुमल नलइदिए जाहानले मेलो सार्न पाउँदिन फेरि!”
ठुल्दाई सामान किनेर फर्किनेमा अडिग देखिए।
“ अइले त ब्यानै छ नि ठुल्दाई, कैलेसाउकाँ ग’र दुइ हात मार्न भ्याइँन्छ, के को हतार! हिजा दिन नि खेल्न पाइएन झरि परेर!”
दीपले कोरम पुर्याउने हिसाबले होला, ठुल्दाईलाई तास खेल्न भ्याइने कुरा गर्यो।
“ तास सास नखेलम दीप बाउ आज, सपै लुट्दिहाले असत्तिहरुले अस्ति! अब आफू त तासदेखि नाsssराssयण!”
ठूल्दाईले हिँड्दै यता उता हेर्दै नखेल्ने निधो गरेको कुरा सुनाउँदै थिए, कैलेको पसल आइपुग्यो।
सुन्तले र लहरे बाहिरै बसेर चुरोट तान्दै थिए, कैले साउ चाहिँ भित्र पट्टि केराउको साना साना प्लास्टिकको पोका बनाएर मैनबत्तिमा तताउँदै बन्द गर्दै थियो।
ठूल्दाई र दीप आएको देखेर सुन्तले र लहरे ससर्किएर चुरोट निभाउँदै भित्र छिरे।
“ ल २ जना चाइया थो दुइ जनै आइपुए!”
सुन्तलेले भित्र गएर तासको बिटो समातेर फिट्दै भन्यो। दीप र लहरे भुइँमा गुन्द्रिमा बसिहाले र कैले साउले बिचमा मैलो कछाड ओछ्छ्याइहाल्यो, ठुल्दाई वाल्ल परे।
“ बसम बसम ठूल्दाई, एक हात त हानम न ए, सखारै छ भाउजुलाई पत्तै हुँदैन!”
दीपले सुन्तलेको हातबाट तास लिएर फिट्दै अगाडि वाल्ल परेर उभिएका ठुल्दाईलाई हेरेर दाँत देखाउँदै भन्यो।
“ हैन बाउ, तेल र मास किनेर नलग्दि भा छैन आइलेइ, फेरि पैसो नि जम्मा चालिस रुप्पे दाम छ मसित अइले!”
ठूल्दाईले दिपले फिटेको तास हेर्दै जवाफ दिए। बोल्दै जाँदा, तास फिटिएको एकचित्तले हेर्दै थिए ठुल्दाई। दीपको हातमा निलो किर्मिरे बुट्टा भएको तास सलबल सलबल गरिराखेको थियो। फिट्दाखेरि बडो कलात्मक तरिकाले एकमाथि अर्को र अर्कोमाथि अर्को गर्दै तास सर्दै जान्थे। ठुल्दाईलाई तास चलेको जीवन्त लाग्यो। उनको हात सकसकायो। सबै उनलाई हेर्दै थिए र सबको नजरमा ठुल्दाईले आमन्त्रण देखे। सुन्तले र लहरेको बिचमा खालि भएको गुन्द्रिको भाग उनलाई आफ्नै लागि बनेको जस्तो लाग्यो।
“ अबेला भा’ त छैन छन त, तै नि पैसो छैन क्या, बरु एकछिन बसेर बात मारम!”
ठूल्दाईले सबैलाई हेर्दै जवाफ दिए र खालि ठाउँमा गएर पँलेटि कसेर बसे।
“ के बात मार्नु ठुल्दाई, मजाले एक दुई हात खेलेर गए भैगो नि”
कैले साउले मैनबत्तिमा पोलेको पोकोलाई औँलाले च्याप च्याप थिच्दै भन्यो।
“बरु तेल सेल के के चाइनि हो, आफ्नै ठुल्दाईलाई उधारो दिम्ला के रे नि!”
कैले साउले तासको भाडा आउने मौका नछोड्ने निधो गरेर ठुल्दाईलाई भन्यो।
ठुल्दाईले पुलुक्क कैले साउलाई हेरे।
“उधारो दे त भैगयो नि, जाबो चालिस रुप्पे दामको खेलेर के नै जान्छ र? दाउ लाए एइ चालिसको चार सये हुन्छ। अस्तिको उठे त खासा हुन्थ्यो!”
मनमनै बोल्दै ठुल्दाईले कैले साउ तिर हेरेर भने-
“एक चौथाइ तेल र आदा किलो मास उधारो दिन्छौ त कैले?”
बुढा उधारो पाउनेमा आश्वस्त्व हुन खोजे।
“ भनेसि भनिआलेँ नि ठुल्दाई, बरु तेल भर्न थालेँ है म!”
कैले साउ ठुल्दाईतिर हेर्दै हाँस्न थाल्यो।
“ ल बाँड् बाँड् दीप, एक हात भ्याइसकिन्तो अइले सम्ममा छिटो गर्!”
लहरेले ससर्किँदै हतार गर्यो; मानौँ ठुल्दाईले अचानक नखेल्ने निर्णय गरिदिए भने उसको जहाज डुब्छ।
“ लौ लौ कर गरेउ सपैले एक दुइ हात दाउ हेरम…चुरोट सल्काउ त सुन्तले!”
हाँस्दै ठुल्दाई दीपले बाँडेको तास हेर्न थाले!!